बलात्कार गरी फरार रहेका कसुरदार आठ वर्षपछि पक्राउ
बलात्कार गरी कैद फैसलापश्चात् फरार रहेका कसुरदारलाई आठ वर्षपछि काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालयले धुलिखेलबाट पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात् फरार रहेका राउतलाई धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेस गरिएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ । रासस