Logo
१५ चैत्र २०८०, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले निकृष्ट ढंगले अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढ्यो : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी छन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको आरोप लगाएकी हुन् ।

सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् ।आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो ।बागमती प्रदेश सरकार र आफ्नो पार्टी नेकपा एमाले प्रदेशवासीका आकांक्षा पूरा गर्न प्रतिवद्ध रहेको पनि उनले प्रस्ट पारिन् ।

मुख्यमन्त्री शाक्यले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएका उपलब्धि पनि सुनाइन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकारले सफलता पाएको उनको भनाइ थियो ।

साथै उनले आफ्नो नेतृत्वको सरकारले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको दाबी गरेकीछन् । मुख्यमन्त्री शाक्यले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरेका, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उल्लेख गरिन् ।

उनले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढीपहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि बताइन् ।

प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा बागमती प्रदेश स्थापित भएको उनको दाबी छ ।

उनले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताइन् ।

उनले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पारिन् । आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि उनले बताइन् ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्