Logo
८ बैशाख २०८१, शनिबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा पहिरोमा परी १३ जनाको मृत्यु

file photo

सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि परेको अविरल बर्षाका कारण गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गुमाएका छन् ।

यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा परी जोरायल गाउँपालिका – ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो ।

यस्तै डोटीकै सायल गाउँपालिका -६ खातिवाडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर १४ वर्षीयसागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ ।

डोटीकै शिखर नगरपालिका-११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ ।यस्तै गरेर पहिरोमा परेर जोरायल गाउँपालिका-३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।

डडेल्धुराको गन्यापधुरा गाँउपालिका- १ भात्काडाका ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको पहिरोबाट च्यापिएर मृत्यु भएको छ । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका-३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।

त्यस्तै बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार १८ वर्षीया पवित्रा पार्की २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्