त्रिभुवन बिमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताको अन्त्य गर्ने बताएका छन् ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताएका हुन् ।
मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए ।साथै विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए ।
अवका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिएका छन् ।
यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए ।
आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पुर्याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए ।नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए ।