Logo
७ बैशाख २०८१, शुक्रबार
(October 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विजयादशमी मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै, शुभ साइत बिहान १० : ०२ बजे

आज बडा दशैंको मुख्य दिन विजया दशमी ! आज देशभर मान्यजनबाट टीका र आशिर्वाद थापेर विजया दशमी मनाइँदैँ छ ।
नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ ।

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदेखि टीका, जमरा र आशिर्वाद ग्रहण गर्न सकिने छ ।

घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दूर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ ।

रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

दशैंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशिर्वचन विशेष महत्वका हुन्छन् ।

दशैं हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा रहेको छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्य निकै रोमाञ्चक देखिन्छ ।

घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकहाँ पुगेर टीका र आर्शिवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ । नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

वैदिक सनातन धर्मानुयायीहरू दशैंलाई पौराणिक पात्र र तिनको महारथसँग जोडेर हेर्ने गर्दछन् । यस दिन दशानन् अर्थात् दशमुखे रावणको पराजय भएको र रामको विजय भएको दिनका रुपमा पनि लिइन्छ ।

यसै दिन दुर्गा भवानीले महिषासूर नामक असूरको वध गरेको देवी भागवतमा उल्लेख छ ।असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय श्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।

कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैँलाई लिइन्छ । दशैंलाई दैत्यमाथि देवता, असत्यमाथि सत्य अनि अमानवीयतामाथि मानवताको विजयका रूपमा पनि लिने गरिएको छ ।

प्रकाशित मिति: Oct 15, 2021

प्रतिक्रिया दिनुहोस्