Logo
५ कार्तिक २०७८, शुक्रबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले भने : ‘सबैले सुन! प्रजातन्त्रको खिलापमा कसैले सपना नदेखे हुन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकोविरुद्ध कसैलाई गतिविधि नगर्न आग्रह गरेका छन् ।

आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उनले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताए । उनले भने, ‘जनताको नाम सबैले लिन्छन् । जनताले भोटमा देखाइहाल्छन् नि ।’

‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’ देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन ।’

गण्डकी प्रदेश साक्षर घोषण गरे पनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले पूर्ण रुपमा संघीयता कार्यान्वयन बाँकी नै रहेको बताए । उनले शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने बताए ।

नेपालमा करोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको प्रधानमन्त्री देउवाले दावी गरे ।

खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको देउवाले दावी गरे ।

साक्षर प्रदेश घोषणा कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले घोषणा गरे पनि साक्षरता बढ्दै जान्छ भन्ने ग्यारेन्टी नरहेको बताए ।

नयाँ पिढीलाई निरन्तर साक्षर बनाउने कार्यक्रम चलाउनुपर्ने उनको भनाइ थियो । विकासित नेपालका लागि साक्षरमात्र नभइ शिक्षित जनशक्ति उत्पादनमा सरकारहरु लाग्नुपर्ने तिमिल्सिनाले बताए ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश साक्षर घोषणा हुनु उपलब्धि भएको बताउँदै गण्डकी प्रदेश सम्भावना नै सम्भावनाको प्रदेश भएको बताए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५ देखि ६० वर्ष) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेकाले आइतबार प्रदेशलाई घोषणा गरिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको भन्दै गण्डकी प्रदेश सरकारले भदौ ३० गते साक्षर प्रदेश घोषणाको निर्णय गरेको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

आइतबार प्रदेशलाई साक्षर घोषणाअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा नयाँ बजारस्थित प्रदेश संग्राहलयमा बनाइएको साक्षर स्तम्भको अनावरण गरेका थिए ।

प्रधानमन्त्री देउवाले ३ बजे कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । सोमबार बिहान प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्