Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकासँग आइएसविरुद्ध लड्न कुनै सहयोग नलिने तालिबान सरकारको घोषणा

अफगानिस्तानको तालिबान सरकारले आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने घोषणा गरेको छ ।

कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आलंकवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने बताएको हो ।

गत अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिबानले मुलुकमा बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको बताएको हो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतङ्कवादी सङ्गठनले झन्डै २ सय मानिसको ज्यान जाने गरी विमानस्थलमा बम आक्रमण गरेको थियो ।

बम आक्रमणपछि अमेरिकाले ड्रोन कारबाही गरेको थियो। अमेरिकी कारबाहीमा आइएसको आक्रमणका योजनाकार मारिएको अमेरिकाले बताएको थियो। साथै अमेरिकी आक्रमणमा काबुलको एक निर्दोष परिवारका व्यक्तिहरु पनि मारिएका थिए ।

पछिल्लो पटक शुक्रबार आईएसकै स्थानीय सङ्गठनले गरेको आत्मघाती बम आक्रमणमा ६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा आक्रमण हुँदा २ सयभन्दा बढी मानिस घाइते भएको बताइएको थियो ।दोहामा हिजो सुरु भएको अमेरिकी अधिकारीहरुसँगको वार्तामा तालिबान प्रतिनिधिहरुले अफगानिस्तानमा हुने आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु लड्न सक्षम रहेको जवाफ दिएको जनाइएको छ ।

तालिबान प्रवक्ता सुहैल शाहीनले आईएसविरुद्ध आफूहरु नै लड्ने बताएका हुन् । सन् २०१४ देखि आईएसले पूर्वी अफगानिस्तानमा शिया मुसलमानहरुलाई निशाना बनाएर आत्मघाती आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्