Logo
१५ चैत्र २०८०, बिहीबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बडादसैंको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज बडादशैको आज चौथो दिन ! आज नवदुर्गाको चौथो स्वरुप कुष्माण्डा भगवतीको पूजा आराधना गरिदैँ छ ।कुष्माण्डा भगबतीलाई ब्रह्माण्ड उत्पत्तिको कारक मान्ने गरिन्छ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो।

दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आह्वान गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ।यसै समयमामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।

 

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्