Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीको महान् पर्व बडादशैं आजबाट सुरु, घर घरमा जमरा राखि घटस्थापना मनाइदै

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।दशैंको पहिलो दिन आज घर घरमा जमरा राखी घटस्थापना मनाइदै छ ।

पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।

नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ ।आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ ।

आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ ।दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ ।शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ ।

प्रकाशित मिति: Oct 7, 2021

प्रतिक्रिया दिनुहोस्