Logo
११ बैशाख २०८१, मंगलबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन गृह मन्त्रालयले कार्यदल बनाउने

गृह मन्त्रालयले कोरोना महामारीबाट प्रभावित पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन कार्यदल बनाउने निर्णय गरेको छ ।

ठमेल पर्यटन विकास परिषद्, दोहोरी व्यवसायी सङ्घ र रात्रिकालीन व्यवसायी सङ्घका प्रतिनिधिसँग बुधबार भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन र रात्रिकालीन व्यवसायका समस्या बुझ्न कार्यदल बनाउन लागिएको बताए ।

काठमाडौंको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सीखेल र पोखराको लेकसाइडमा सञ्चालित विभिन्न व्यापार व्यवसाय रातभर सञ्चालन गर्नुअघि त्यसको सकारात्मक र नकारात्मक पक्षबारे अध्ययन गर्दा राम्रो हुने उनले बताए ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक-एक जना प्रतिनिधि तथा सम्बद्ध व्यवसायीहरू सदस्य रहने छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने यी स्थानमा रात्रिकालीन व्यवसायहरूमा डिस्को र क्लब राति ३ बजेसम्म, दोहोरी र डान्स रेस्टुराँलगायत व्यवसाय राति १२ बजेपछि बन्द हुने गरेको व्यवसायीहरू बताउँछन् ।

मन्त्री खाँणले कुनै पेसा व्यवसायको सम्मान राष्ट्रको सम्मान भएकाले रात्रिकालीन व्यवसायलाई पनि सुरक्षित र सम्मानित पेसा व्यवसाय बनाउनुपर्नेमा जोड दिए । सरकार स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा रहेको छ, उनले भने– नागरिकको जीवन रक्षा पहिलो दायित्व हो  ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्को तर्फबाट राजुमान डङ्गोल, दोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष दिनेश श्रेष्ठ र डान्सबार सङ्घका अध्यक्ष राजकुमार लामाले व्यवसाय बन्द हुँदा आर्थिक समस्या झेल्नु परेको गुनासो गरेका थिए ।

सरकारले बनाएको नीति नियम तथा स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाउँदै व्यवसायीहरूले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न मिल्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्