Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्नु पर्ने बताएका छन् ।

साथै खड्काले विश्वका ४५ लाख मानिसहरुले कोभिड-१९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गरेका छन् ।संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गरेका हुन् ।

उनले भने, ‘महामारीको यो संकटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको छ, थप १५० करोड मानिसहरुलाई चरम गरीबीमा धकेलेको छ, र कडा मेहनतले गरेको विकासमा असर गरेको छ ।’

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक(आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्नु पर्ने बताए ।

उनले कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको प्रसंशा समेत गरे । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघीय प्रणाली सहित अन्तराष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उनले भने, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’

खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएके बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिए ।

खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताए ।

नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताए ।खड्काले बहुपक्षीयता र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गरेका छन् ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्