Logo
३ माघ २०८१, बिहीबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

सरकारले दसैँमा फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने बताएको छ ।

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए ।

उनले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरेका छन् ।

उनले भने- ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ । यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’

उनले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।

पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए । साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्