सरकारले थप्यो रासायनिक मल खरिद गर्न तीन अर्ब बजेट
सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब बजेट थपेको छ ।
अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
र अहिले संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयले जनाएको छ । अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको हो ।
बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको हो ।
१२ अर्ब रुपैयाँमा अहिलेको बजार मूल्यअनुसार तीन लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
बढेको रकमबाट थप एक लाख १५ हजार मेट्रिकटन भन्दा धेरै मल खरिद गर्न सकिने बताइएको छ । यस वर्ष कुल १५ अर्ब बजेटबाट सवा चार लाख मेट्रिकटन मल खरिद गरिने भएको छ ।
१२ अर्ब रुपैयाँ बराबरको तीन लाख मेट्रिकटन मल खरिदका लागि प्रक्रिया अघि बढीसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।