Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभा हत्याकाण्ड : थप ४ संलग्न व्यक्ति सार्वजनिक, ५ जनाको पूर्वयोजनामा हत्या

संखुवासभा सामुहिक हत्या घटना प्रकरणमा थप चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की छन्। रणबहादुर लोकबहादुरका बाबु हुन्।

भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले भतिज नाता पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो।त्यसपछि पनि सुक्ष्म अनुसन्धान गरेको प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

संखुवासभाको मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या पूर्वयोजना अनुसार भएको पाइएको छ।थप चार जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेसँगै घटनामा नयाँ ट्वीस्ट देखिएको हो।

यो सँगै ६ जनाको हत्या घटनामा रणबहादुरका तीन बाबुछोराको संलग्नता रहेको खुलेको छ भने खड्गबहादुरका बाबुछोरा पनि हत्या घटनामा मुछिएका छन्। पक्राउ परेका सबै जना लालबहादुर कार्कीका छोरा-नातिहरु हुन्।

यो घटना योजनाबद्ध तरिकाले भएको पाइएको छ। लोकबहादुरको घरमा हत्याको योजना बनााएको पाइएको संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए।

सुवेदीका अनुसार राति ८ बजेतिर मुख्य योजनाकार खड्गबहादुर कार्कीसहितका व्यक्ति लोकबहादुरको घरमा भेला भएका थिए।

घटना हुने दिन तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने मौकामा हत्या गर्ने योजना बनेको पाइएको छ।

तेजबहादुरको हत्या गरेको अरुले थाहा पाए उनीहरूलाई पनि हत्या गर्ने र मिलेसम्म धनमाल समेत लुट्ने योजना रहेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए।

घटना हुने दिन तेजबहादुर कार्की पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने तय भएको थियो। पूर्वयोजना अनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएका थिए।

खड्गले तेबजहादुरलाई ‘लोके अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेको पाइएको छ। खड्गले तेजबहादुरलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरेको अनुसन्धानबाट खुलेको डीएसपी सुवेदीले बताए।

तेजबहादुर लोकबहादुरको घरतर्फ गएपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा बसेको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि तेजबहादुर लोकबहादुरको घरमा गई ‘अल्छी अझैसम्म उठ्दैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए। त्यतिबेला लोकबहादुरका भाइ नरेश र बाबु रणबहादुर घरमै रहेको पाइएको छ।

तेजबहादुर फर्कने बेलामा लोकबहादुरले भाइ नरेशलाई पूर्वयोजना अनुसार इसारा गरी दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकेर पछिपछि गएको अनुसन्धानबाट खुलेको छ।

गोगनेको रुख नजिक पुगेपछि तेजबहादुरको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुरले समेत दाउराको चिर्पटले तेजबहादुरलाई प्रहार गरेका थिए।

हस्तबहादुरले तेजबहादुरलाई चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएको अनुसन्धानबाट खुलेको छ।

आफूमाथि प्रहार हुन थालेपछि तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै चिच्याएको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जानाले उक्त आवाज सुनेर आएपछि उनीहरुमाथि पनि प्रहार भएको पाइएको छ। लोकबहादुरले कमलालाई सुरुमा प्रहार गरेको र कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको खुलेको छ।

हस्तबहादुरले नै रन्जनालाई ठेलेर खोल्सामा झारेको प्रहरीले जनाएको छ। उनलाई खड्गबहादुर, हस्तबहादुर र लोकबहादुर मिलेर हत्या गरेको खुलेको छ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्