Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसमा लोसपाले विरोध गर्ने, जसपा भने मौन बस्ने !

वि .स.२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।

संविधान दिवसका दिन लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रम गर्ने भएको छ । तर जसपा नेपाल भने असोज ३ संविधान दिवसका दिन मौन रहने निधो गरेको छ ।

जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी बनेपछि संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने कि नमनाउने भन्नेबारे विवाद देखिएको थियो ।

गत वर्ष संविधान दिवस कसरी मनाउने भन्नेबारे जसपाभित्र विवाद बढेको थियो । त्यतिबेला जसपाको एउटा पक्ष मौन रह्यो भने अर्को पक्षले सडकमा उत्रिएर संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका थिए ।

तत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागीसमेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस ९३ असोज०लाई कालो दिनका रुपमा मनाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउट लगायत विरोधका कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

अध्यक्ष ठाकुरको सर्कुलरअनुसार नै विरोधका कार्यक्रम हुने लोसपाका नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमै मनाएको बताउँदै उनले संविधान संशोधन लगायतका मुद्दा सम्बोधन नभएसम्म संविधान दिवसलाई आफूहरुले कालो दिनकै रुपमा मनाउने बताए ।

‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीले उठाएका मागलाई सम्बोधन गरेर संविधान दिवसको उत्सवमा हामीलाई पनि सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन,’ उनले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म आन्दोलन जारी रहने छ ।’

त्यस्तै जसपा नेपाल भने संविधान दिवसका दिन मौन रहने भएको छ । प्रदेश २ सरकारको नेतृत्व गरिरहेको सो दल संघीय सरकारका पक्षमा बनेको गठबन्धनमा आवद्ध छ ।

जसपाकै नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसका अवसरमा प्रदेश सरकारका तर्फबाट अहिलेसम्म औपचारिक कार्यक्रममा सहभागिता जनाएका छैनन् । उनले संविधान दिवसको विरोध पनि गरेका छैनन् ।

मुख्यमन्त्री राउतले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको र संविधान संशोधनका लागि संघर्ष जारी रहेको बताए । संविधानप्रति असन्तुष्टि रहेकै कारण आफूहरू संविधान दिवसका अवसरमा प्रदेश सरकारस्तरमा औपचारिक कार्यक्रममा सहभागी हुन नसक्ने उनको भनाइ छ ।

यद्यपि, मुख्यमन्त्री राउत नेतृत्वकै मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनलाई उत्सवको रुपमा मनाउने भन्दै विविध निर्णय गरेको छ ।

यसवर्ष पनि संविधान दिवसका दिन आफूहरु मौन बस्ने प्रदेशका कृषि तथा सहकारी मन्त्री विजय यादवले बताए ।

 

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्