Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभा हत्या घटना प्रकरण अझै शंकास्पद! मुख्य आरोपीका भाइ पक्राउ

प्रदेश नं १ स्थित सङखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आरोपीका भाइलाई पक्राउ गरेको छ ।

प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो । हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

तेजबहादुरसहित परिवारका अन्य ६ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको बताइएको छ । नियन्त्रणमा लिइएका नरेशसँग प्रहरीले सोधपुछ जारी राखेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्