Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभामा ६ जनाको हत्या आरोपितलाई प्रहरीले गर्यो सार्वजनिक

प्रदेश नं १ अन्तर्गत रहेको संखुवासभामा ६ जनाको हत्या गरेको आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए।

उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा। लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्।उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।

झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो।प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन।

जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।

सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’

उनले हत्या स्वीकार गरिसकेको हुँदा नियन्त्रणमा लिएर राखिएको छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए।

उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।

तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ।तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।

तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्।

यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्।ए यो लोकेले मार्‍यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने।

प्रहरीले लोकबहादुरसँग बयान लिँदा कटुवाल आफू सँगै रहेको बताउँछन्।सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।

त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए।कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।

‘तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले बताएका छन्,’ वडाअध्यक्ष कटुवाल भन्छन्।

आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले तेजबहादुरसँग ‘रिस’ उठेको लोकबहादुरले बताएको कटुवालले जनाए।घटना ‘आवेग’मा भएको देखिए पनि यसबाहेक अन्य कारण के थिए भन्ने प्रहरीले बताउन मानेको छैन।

अनुसन्धान अधिकृतका अनुसार घटना लोकबहादुर किसान गर्ने मानिस हुन्।उनी मलेसियामा बसेर तीन वर्षअघि फर्किएका थिए।

मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केको कटुवाल बताउँछन्। अहिले ‘ठिकै’ भनिएका लोकबहादुर गाउँमै खेतीपाती गरेर बसिरहेका थिए।

लोकबहादुर र तेजबहादुरको घरबीच पारिवारिक ‘दुश्मनी’ अरू के थियो प्रहरीले बताइसकेको छैन। वडाध्यक्ष कटुवालले अरु केही नदेखिएको बताए।प्रहरीले आर्थिक लेनदेनलगायतको पाटोबाट अनुसन्धान गर्दा त्यस्तो फेला नपरेको बताएको छ।

‘केही कारणहरू छन्, हामी अहिले ती कुराहरूको पुष्ट्याइँ गरिरहेका छौं,’ संघीय प्रहरी इकाई कार्यालय धरानबाट अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल भन्छन्।

६ जनाको हत्या गरिसक्दा पनि बौद्धमानले थाहा नपाएपछि उनलाई त्यतिकै छोडिदिएको लोकबहादुर प्रहरीसँग बताएका छन्।

तेजबहादुरको घरमा भएका सुनचाँदी र गरगहना सकुशल फेला परेका थिए। त्यसदिन तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका थिए। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा नपाएको प्रहरीले बताएको छ। बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर छ।सेतोपाटी

 

 

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्