Logo
५ श्रावण २०८२, आईतबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझा पार्टीमा वैचारिक मतभेद : अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र संयोजक पाण्डेलेले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै आज (मंगलबार) केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए ।

अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको ब्यहोरा यहाँहरु सबैलाई अवगतै छ’ पत्रमा भनिएको छ, ‘यस पटक पनि उक्त अभ्यास अनुरुप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’

संयोजक पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेन्डामा छलफल हुने भनिएको छ ।

पार्टीका अध्यक्ष मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्नुपर्ने मागसहितको दस्ताबेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ ।

यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्ताबेज सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्