Logo
६ बैशाख २०८१, बिहीबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले एक दर्जन घरमा क्षति

लुम्बिनी प्रदेश स्थित पाल्पामा अविरल वर्षाका कारण घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।आज बिहान घर भत्किँदा मृत्यु हुनेमा तानसेन नगरपालिका-१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो ।

गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।त्यस्तै बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा आज विहान आएको पहिरोले एक दर्जन घरमा क्षति पुर्‍याएको छ ।

चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ ।

उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

२०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो ।

 

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्