Logo
१२ बैशाख २०८१, बुधबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा नहर भत्किँदा ५ सयभन्दा बढी घर डुबानमा, जनजीवन प्रभावित

प्रदेश नं २ स्थित सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ । बस्ति डुवानमा परेपछि त्यहाँको जनजीवन समेत प्रभावित भएको छ ।

लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित चन्द्र नहर भत्काएको हो । अमहा, टेंग्रा लगायत खोलाको बाढीले दुई ठाउँमा नहर भत्काएको सप्तकोशी नगरपालिकाका प्रमुखले बताएका छन् ।

नहर कटानपछि आएको बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । नगरप्रमुख उत्तम गौतमले सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २, ४ र ११ का घरहरु डुबानमा परेको बताए ।

यस्तै जिता नदीको बाढीले तिलाठी-कोइलाडी गाउँपालिका-७ स्थित मंसापुर र वडा नम्बर ५ स्थित बरसाइनका केही घर डुबेको छ ।

गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबानमा परेको बताए ।

तिलाठी-कोइलाडी वडा नम्बर ८ स्थित तोपा बस्तीका २५ घरसमेत डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण नदीहरूमा जलस्तर बढ्दै गएको छ ।

सप्तकोशी, त्रियुगा र बलान नदीमा पानीको सतह अझै बढ्ने पूर्वानुमान रहेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

सीमावर्ती क्षेत्र अवस्थित सप्तकोशी, त्रियुगा र जिता, बलान नदीमा आउने बाढीको पानी भारतीय बाँधका कारण निकास नहुँदा गोबरगढा, हनुमाननगर, भारदह, फतेपुर, रम्पुरा, मल्हनिया, डलवा, तिलाठी, कोईलाडी, लालापटी, सकरपुरा लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्