Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेनो काइगर र निसान म्याग्नाइट कार : पावर र पर्फमेन्स एउटै तर मूल्यमा १ लाख ५० हजार अन्तर!

कम मूल्यको एसयूभीका रुपमा चर्चा कमाइरहेको निसान म्याग्नाइटलाई चुनौती दिनेगरी रेनो काइगर अझ कम मूल्यमै नेपाली बजारमा उपलब्ध भए पश्चात हाल नेपाली बजारमा यी दुई साना एसयूभीको चर्चा ह्वात्तै चुलिएको छ ।

ह्याचब्याक सरह अर्थात सोभन्दा पनि कम मूल्यमा खरिद गर्न सकिने यी दुई कारका कारण अहिले नेपालको कार बजार यी दुई ब्रान्डमा बढी केन्द्रित रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

यी दुबै कारमा उपलब्ध इन्जिन क्षमता, पावर तथा पर्फमेन्स र फिचर्स समेत प्रायः समान प्रकारका छन् । अर्थात भनौ यी दुई ब्रान्ड एकै एलायन्स अन्तर्गतका कम्पनीको उत्पादन हुन् ।

अन्तराष्ट्रिय बजारमा निसान र रेनोले एकै एलायन्समार्फत सवारीसाधन उत्पादन गरी बिक्री बितरण गर्दै आइरहेका छन् । २ महिनाअघि नेपाल भित्रिएको निसान म्याग्नाइटले दमदार कारोबार गरिरहेको अवस्थामा केही दिन अघिमात्र सार्वजनिक गरिएको रेनो काइगरले समेत सोही गतिमा कारोबार गर्ने अनुमानका बीच अबको केही समय नेपालको अटो बजार यी २ ब्रान्डमा बढी केन्द्रित रहने निश्चित प्रायः बनेको छ ।

१ हजार सीसी सेग्मेन्टको क्रसओभर समेत भनिने यी दुई एसयूभीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

यस्ता छन् पावर, पर्फमेन्स र फिचर्स

म्याग्नाइट र काइगर दुबै एसयूभीमा एकै प्रकारको इन्जिन जडान गरिएको छ । यी दुबै एसयूभीमा ९ सय ९९ सीसी क्षमताको ४ भल्वयुक्त डीओएचसी ३ सिलिन्डर इन्जिन जडान गरिएको हो ।

जसले समान प्रकारको पावर तथा टर्क जेनेरेट गर्छ । यी दुबै एसयूभीको अधिकतम पावर ७१ बीएचपी र टर्क ७६ एनएम रहेको छ ।दुबै एसयूभीको माइलेज समेत १८ किलोमिटर प्रतिलिटर रहेको दाबी गरिएको छ । ५ गियर म्यानुअल ट्रान्समिसन दिइएको यी एसयूभीको डाइमेन्सन भने केही फरक छ ।

दुबै एसयूभीको ह्विलबेस २ हजार ५ सय एमएम रहे पनि लम्बाई, चौडाई र उचाइको मामिलामा काइगर भन्दा म्याग्नाइट केही ठूलो छ । ग्राउन्ड क्लियरेन्स भने दुबै एसयूभीको २०५ एमएम रहेको छ ।

यी दुबै एसयूभीले एसियन एनक्यापको क्र्यास टेष्टमा फोर स्टार सेफ्टी रेटिङ पाएका छन् । दुबै एसयूभीको ड्राइभर र फ्रन्ट प्यासेन्जरका लागि एयरब्याग उपलब्ध गराइएको छ भने एबीएस र इबिडीजस्ता फिचर्स समेत उपलब्ध छ ।

दुबै एसयूभीमा रियर पार्किङ सेन्सर र हातैले मिलाउन मिल्ने एयर कन्डिसनर उपलब्ध छ । त्यसैगरी, ड्राइभर र अगाडिको प्यासेन्जरले आफ्नो अनुकूल मिलाउन मिल्नेगरी ६ वे एड्जस्टेवल सिट जडान गरिएको छ भने काइगरमा ड्राइभर आर्मरेस्ट समेत उपलब्ध छ, जुन म्याग्नाइटमा दिइएको छैन ।

यी दुबै एसयूभीको इन्टेरियर सिंगल टोन कलरमा उपलब्ध छ । जसमध्ये म्याग्नाइटमा लाइट ग्रे र काइगरमा ब्ल्याक कलर समायोजन गरिएको छ ।

म्याग्नाइटको अगाडि र पछाडि पावर विन्डो छ भने काइगरमा अगाडिमात्र पावर विन्डो छ । त्यसैगरी रियर डिफगर र रियर वाइपर म्याग्नाइटमा मात्र दिइएको छ ।

लाइटिङको कुरा गर्नुपर्दा निसान म्याग्नाइटमा डे टाइम रनिङ लाइट उपलब्ध छैन जुन काइगरमा भने एलइडीयुक्त जडान गरिएको छ । दुबै एसयूभीमा हेलोजन हेडलाइट दिइएको भएपनि टेललाइटको हकमा म्याग्नाइटमा हेलोजन र काइगरमा एलईडी जडान गरिएको छ ।

मूल्य तथा प्रतिस्पर्धा
निसान म्याग्नाइट टर्बो इन्जिनमा समेत उपलब्ध रहेपनि काइगर भने नेचुरल एस्पायर्ड इन्जिनमा मात्र उपलब्ध रहदै आएको छ । जसमध्ये काइगर ७ भिन्न भेरिएन्ट र म्याग्नाइट ६ भेरिएन्टमा उपलब्ध छ ।

काइगरको बेस भेरिएन्ट अर्थात सबैभन्दा सस्तो मोडलको मूल्य २८ लाख ४९ हजार रुपैयाँ तय गरिएको छ भने उता म्याग्नाइटको सोही मोडलको मूल्य २९ लाख ९९ हजार तोकिएको छ ।

बेस भेरिएन्टमा यी दुई एसयूभीको मूल्य अन्तर १ लाख ५० हजार रुपैया रहेको छ । महंगो भेरिएन्टको कुरा गर्दा काइगर आरएक्सजेड एएमटीको मूल्य ३७ लाख ६९ हजार निर्धारण गरिएको छ भने म्याग्नाइटको सोही भेरिएन्ट अन्तर्गत एक्सभी प्रिमियम ड्युअलको मूल्य ३९ लाख ८९ हजार तोकिएको छ ।

टप भेरिएन्टमा समेत म्याग्नाइट काइगरको तुलनामा २ लाख २० हजार रुपैयाँले महंगो देखिएको छ ।सस्तो एसयूभीमा यी २ ब्रान्डको विकल्प अन्य ब्रान्डसँग नभएका कारण बजारमा यी दुई एसयूभीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

केही महिना छिटोगरी भित्रिएको निसान म्याग्नाइटले शुरुवाती कारोबार राम्रो गर्दै गइरहेको अवस्थामा उसको गतिमा काइगरले कस्तो ब्रेक लगाउने हो भन्ने विषयमा जानकारी लिन केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यद्यपि विगतको रेकर्डलाई हेर्ने हो भने नेपालमा रेनोको तुलनामा निसानप्रति विश्वास गर्ने ग्राहक भने धेरै नै रहेको प्रमाणित भएको छ ।नेपाल अटो

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्