Logo
७ बैशाख २०८१, शुक्रबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेपत्ता बनाइएकी सुजिताको शव शौचालयको ट्याङ्कीमा भेटियो, ससुरा-देवरको मिलेमताेमा हत्या !

प्रदेश नं २ स्थित महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर शव शौचालयको ट्याङ्कीमा फेला परेको छ ।

एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फलिएको शव फेला पारेको हो । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो । सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर शवको खानतलासी गरेको थियो ।

सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको आरोप छ । सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइत पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ । तर माइती पक्षको मगलाई प्रहरीले वास्ता गरेको थिएन ।

घटनाको अनुसन्धान गर्न अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय पनि प्रहरीसँग आग्रह गरेका थिए । तर, महोत्तरीका एसपी दिनेश आचार्यले आफूहरुको आग्रहलाई नमाने पछि मधेसी आयोग र महिला अधिकार आयोगमापनि घटनाको छानविनका लागि आवश्यक पहल गरिदिन निवेदन पठाएका थिए ।

मधेसी आयोगका अध्यक्ष विजय दत्तले तत्कालै घटनाको छानविन गर्न महोत्तरी प्रहरीलाई पत्राचार गर्‍यो । लगत्तै प्रहरीले माइत पक्षले आशंका गरेको खेतमा असार १३ खोजी गर्‍यो ।

त्यतिबेला करिब ५ फिट खाल्डो खनेपछि केश, कपडा र शरीर लगाउन प्रयोग गरेको केमिकल भेटियो । सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देबर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरासतमा छन् ।सुजिताका श्रीमान सुस्त मनस्थितिका छन् ।

प्रहरीले पटक-पटक रुपेशलाई सुजिताको शव लुकाएको ठाउँ देखाउन भनेका थिए । तर तीन दिन अघि रुपेशले शव गाडेको भनिएको ठाउँ देखाए । तर थप प्रमाण् फेला परेन ।

सुरुदेखि नै महोत्तरी प्रहरीमाथि आशंका गरेका अधिकारकर्मी गुन्जा र सामाजिक अभियन्ता सरोजले नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेश रञ्जितकारसँग सुक्ष्म अनुसन्धानका लागि गुहारे ।

डिआइजी रञ्जितकारले घटनाको अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोलाई परिचालन गरे । उनले सुजिताको शव शौचालयको ट्याङ्कीमा लुकाएको सुराक पत्ता लगाए । त्यहीं सुराकीका आधारमा खोजी गर्दा आज सुजिताको शव फेला परेको हो ।

सुजिता हत्याको कारण अहिलेसम्म खुलेको छैन । तर दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रीमान सुस्त मनस्थितिका भएकाले अन्य पुरुषसँगको हिमचिम पनि हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ ।सुजिताको हत्यापछि छोरा–छोरीको विचल्ली भएको छ ।

सुजिताको  हत्या आरोपमा माइत पक्षले उनका ससुरा, देवर, देवरानी, श्रीमानसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेको छ । जसमध्ये श्रीमान र देवर पक्राउ परेका छन् । अन्य अभियुक्त फरार छन् ।

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्