Logo
१५ चैत्र २०८०, बिहीबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री खगराज अधिकारीले पत्रकारलाई कसरी झुक्काए ?

गृहमन्त्री खगराज अधिकारीले गृहमा केही सुधारको प्रयास गरेका छन् । त्यस क्रममा हाल उनले मन्त्रालयका काम कारबाही बुझ्ने प्रयास गरिरहेका छन् । गत मंगलबार सुरक्षा बिटमा काम गर्ने पत्रकारलाई बोलाएर उनले सुधारका विविध पक्षबारे सुझाव लिए । जसक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयबाट दुई रुपैयाँ पनि कमाउने आकांक्षा नरहेको र धेरै सुधार गर्न नसकेपनि बिगार्ने काम भन्ने नगर्ने बताए । मन्त्रीको नरमता र सालिनता देखेर पत्रकार पनि प्रभावित भए ।

तर, मन्त्री अधिकारीले एक विषयमा भने आफुहरूलाई झुक्याएको पत्रकारले पछि थाहा पाए । बोल्ने क्रममा मन्त्री अधिकारीले दाङमा प्राकृतीक स्रोतको दोहन भएको विषय आएपछि आफुले दाङका सिडिओसँग परिचय लुकाएर सोधपुछ गरेको बताएका थिए । ‘सिडिओले सर्वसाधारणसँग कसरी कुरा गर्छन् भनेर बुझ्न सुरुमा मैले परिचय पनि दिइन, उहाँले राम्रैसँग कुरा गर्नुभयो,’ मन्त्री अधिकारीले भनेका थिए । मन्त्रीले सिडिओमाथि छड्के गरेको उनको आशय थियो । तर, पछि दाङका सिडिओ दीर्घनारायण पौडेलसँग बुझ्दा खासमा त्यस्तो रहेनछ । सचिवालयका कर्मचारीले मन्त्रीले कुरा गर्न चाहेको भनेर सुरुमै जानकारी दिएर त्यसरी फोन गरेका थिए । पत्रकारले सिडिओ पौडेलसँग बुझ्दा खासमा पहिले नै जानकारी दिएर नै मन्त्रीले उनीसँग कुरा गरेका पुष्टि भयो । वास्तविकता बुझेपछि पत्रकारले आफुहरुलाई मन्त्रीले झुक्याएको थाहा पाए । मन्त्री अधिकारी कतै सस्तो लोकप्रियताको पछि त लागेका होइनन् भन्ने यो घटनाले देखाएको छ ।

हुन त मन्त्री अधिकारीलाई गृह मन्त्रालयमा सफल हुन धेरै नै मेहनत गर्नुपर्ने अवस्था छ । किनकि, गृह प्रशासनमा चरम राजनीतिक हस्तक्षेपको अवस्था छ । मन्त्रालय पुरै बालुवाटारको कब्जामा छ । सिडिओको सरुवादेखि प्रहरीको बढुवासम्म बेथिती बढेको छ । यस्तो अवस्थामा ठूलो संख्यामा प्रहरीको सरुवा गर्ने भएको छ । जून समयमा हुन सकेको छैन । बढुवा पनि रोकिएको छ । गृह मन्त्रालयले नै चासो नदिदा सइबाट इन्सपेक्टरको बढुवा महिनौंदेखि रोकिएको छ । यस्ता गम्भीर विषयमा मन्त्री अधिकारीले चासो दिएका छैनन् । आफुलाई प्रहरीको सरुवा बढुवामा चासो नभएको उनले बताए । तर खास चासो दिनुपर्ने र राजनीतिक हस्तक्षेप उनले त्यसैमा रोक्नुपर्ने अवस्था छ ।

गृहले पुरानै शैलीमा विभूषण वितरणको काम अघि बढाउन लागिएको छ । गृहमा सुराकी रकममा हुने अनियमितता मात्र रोक्न सके गृहमन्त्रीमा वास्तविक इमान्दारीता देखिने मन्त्रालयका एक अधिकारी बताउँछन् । सुराकी खर्चका नाममा गृहमन्त्रीले मासिक ५ लाख भन्दा धेरै लिने गरेका छन् । ‘मन्त्रीज्यूले दुई रुपैयाँ कमाउनु छैन भनेका छन् तर पाँच लाख सुराकी खर्च भने के गर्छन् हेर्नुपर्छ,’ गृहका एक उपसचिवले भने । *यो खबर दृष्टि साप्ताहिकबाट लिइएको हो ।

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्