Logo
१२ बैशाख २०८१, बुधबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्न खोजेको नेपालको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपालले आरोप लाएका छन् ।

कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

नेता नेपालले फेसबुकमार्फत उक्त निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाएका हुन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाएका छन् ।

नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् ।

कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ उनले भनेका छन् ।

‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ सहजै देख्न सकिन्छ’ उनले भने ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो ।

उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

 

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्