Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९९ केन्द्रीय सदस्य थप्दै माओवादी केन्द्र, ४० वर्ष मुनिकालाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्ने भएको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ ।

उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ ।

नयाँ थपिने सदस्यहरूमा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ थपिने केन्द्रीय सदस्यमा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको बताइएको छ ।

केन्द्रीय समितिमा क कसलाई थप्ने भनी पार्टीको तल्लो तहबाटै सुझाव सङ्कलन भइरहेको छ । केन्द्रीय समिति टुङ्गो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुङ्गो लाग्ने छ ।

सर्वोच्चले नेकपाको पार्टी एकता भङ्ग गरिदिएपछि माओवादी केन्द्र हाल नयाँ सङ्गठन निर्माणको तयारीमा जुटेको छ । पूर्वमाओवादी नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशङ्कर चौधरी लगायतका नेताहरू एमाले प्रवेश गरेका छन् । उनीहरूको स्थान पनि रिक्त भएको छ ।

सर्वोच्चले २०७७ फागुन २३ मा एकता बदर गरिदिएको थियो । गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरूको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्