Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस १३ औँ महाधिवेशनपछि निकै कमजोर बन्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्रियामा उनले विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा निकै कमजोर बनेको बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री सिंहले चारजना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

‘पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

उनले जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण काँग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताए ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य गीता वाग्ले, विजुला बर्मा, नरोत्तम बैद्य, प्रभात तामाङलगायतले कुनैपनि बहानामा कांग्रेसको १४ औँ महाधिवेशनलाई आलटाल गरेर सार्ने षड्यन्त्र नगर्न नेतृत्वलाई सुझावदिए ।

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, चितवनका सभापति जीतनारायण श्रेष्ठ, दोलखाका सभापति रुद्र खड्का, धादिङका सभापति रमेश धमलालगायतले काँग्रेसभित्र चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिवेशन प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए ।

अभियानका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले लोकतन्त्रलाई बलियो बनाउन र तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर छलफल र बहस चलाइरहने बताए ।

उक्त अभियानले यसअघि प्रदेश १ र प्रदेश २ मा छलफल सञ्चालन गरिसकेको छ ।रासस

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्