Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको निर्णयविरुद्ध सर्वोच्चमा जाने जसपाको उपेन्द्र यादव पक्षको तयारी

निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्ट देखिएको जसपा नेपालको उपेन्द्र यादव पक्षले न्यायिक निकास नभए अदालत जाने तयारी गरेको छ ।

यादव पक्षका शीर्ष नेताहरुबीच पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको छ ।

निर्वाचन आयोगले जसपामा २ जना अध्यक्ष रहने व्यवस्था रहेको भन्दै एकजना अध्यक्षको मात्रै हस्ताक्षरमा भएको पदाधिकारी हेरफेर वा निष्कासन सम्बन्धी निर्णय स्वीकृत नहुने ठहर गरेको थियो ।

जसपाले भने पार्टीको बहुमत पक्षले गर्ने निर्णय कार्यान्वयनमा बाधा हुन नहुने भन्दै निर्वाचन आयोगसँग छलफल गर्ने तयारी थालेको छ ।

‘निर्वाचन आयोगसँग छलफल गरेर थप प्रष्ट पार्ने प्रयास पहिलो चरणमा हुनेछ । त्यसबाट पनि निकास भएन भने न्यायिक निकासको खोजी त गर्नैपर्छ’, जसपा नेता गंगानारायण श्रेष्ठले भने । निर्वाचन आयोगले पदाधिकारी हेरफेर भन्दा कुन जसपा वैध हो ? भन्नेबारे निर्णय दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

पार्टीभित्र विभिन्न विकल्पमा छलफल भइरहेको भन्दै नेता श्रेष्ठले आयोगसँग छलफल र अदालत जाने दुवै विषयबारे छिट्टै निर्णय हुने बताए ।

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्