Logo
१२ बैशाख २०८१, बुधबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीद्वारा बादललाई पुरस्कार : श्रीमती नैनकला थापालाई सञ्चार मन्त्रीमा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्।

अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

नैनकला पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद रहेका बादलको पद खारेज भएको थियो।

नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए।

तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।माओवादी छाडेर आफूतिर आएका बादललाई उपहार स्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्।

माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए।

माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन्। उनी पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्।

केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्।मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्