Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्सापछि अब नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकालीपूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।

उनले बिगतका सरकारहरु उताप्रति नस्मस्तक रहेका कारण यो समस्या अहिलेसम्म कायम नै रहेको उनले आरोप लगाएका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन् ।

उनले महाकाली नदीपूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दे ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए ।

उनले भने, ‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकालीभन्दा उत्तरपूर्वको भनौँ । महाकालीपूर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ ।

त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ ।

हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौँ । त्यसमा संवाद गरिरहेका छौँ ।’

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत गरिने बताए ।

कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इशारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पद यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्