Logo
१५ चैत्र २०८०, बिहीबार
(May 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड सङ्क्रमण

गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका-५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्‍न थाल्यो ।

यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड-१९ सङ्क्रमण पुष्टि भयो ।

आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । ‘घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ,’ स्थानीयवासी दिलकुमार खुदाङले भने, ‘धेरै जना हुँदा भौतिक दूरी कायम गरेर बस्‍न र राख्‍नसमेत गाह्रो परिरहेको छ ।’ मास्क र स्यानिटाइजरसमेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ ।

‘गाउँभरिमा १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड-१९ सँग मिल्ने लक्षण देखिएका छन्’, खुदाङले भने, ‘निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौँ ।’ कोभिड-१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदासमेत सरकारी निकायले पर्याप्त चासो नदिएको उनको गुनासो छ ।

सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ-३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड-१९ पुष्टि भयो । हिलिहाङ-३ का स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भने, ‘परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।’ हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ-५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।

हिलिहाङ-५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड-१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् । ‘हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन’, स्थानीयवासीसमेत रहेका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भने, ‘अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।’

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताउँछन् । सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।

गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताए । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । राससका अनुसार, कन्ट्याक्ट ट्रेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताए । ‘तर गाउँबस्तीमा सङ्क्रमित थपिँदै जाँदा चुनौती थपिएको छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड-१९ सङ्क्रमण देखिएको बताए । प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका-११ नांगीन, याङवरक गाउँपालिका-१ च्याङथापू, फालेलुङ गाउँपालिका-२ एकतीनमा विभिन्‍न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन ।

प्रकाशित मिति: May 18, 2021

प्रतिक्रिया दिनुहोस्