Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

नेपालले उनीहरुको योगदानको स्मरण गर्दै भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ ।

दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

प्रकाशित मिति: May 17, 2021

प्रतिक्रिया दिनुहोस्