Logo
१३ बैशाख २०८१, बिहीबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरी पुनः शपथ गराउन माग गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको शपथका क्रममा भएको घटनाले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा गम्भीर असर पुगेकोले पुनः शपथ गराउन माग गरेका हुन् ।

यादवले विज्ञप्तिमार्फत ‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’, भनेका छन् ।

राजदूत नियुक्ति सच्याएर समावेशी मान्यता र मापदण्डका आधारमा नियुक्ति गर्न यादवको माग रहेको छ । विज्ञप्तिमा हालै गरिएको राजदूतहरूको नियुक्तिमा संविधानले सुनिश्चित गरेको समावेशिताको सिद्धान्त अस्वीकार गरिएको आरोप समेत छ ।

कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावले नेपाली जनता आक्रान्त भएको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति, बेड, अक्सिजन, आइसियु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न समेत जसपा अध्यक्ष यादवले माग गरेका छन् ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्