Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीविरुद्ध लड्न कानूनी संरचना आवश्यक भएको सीसीएमसीको निष्कर्ष

आज बसेको सीसीएमसीको बैठकले कोरोना महामारीविरुद्ध लड्न कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार हाल महामारी नियन्त्रणका लागि तीन क्षेत्रमा समस्या देखिएको छ । ज्ञावलीले भने, ‘देशको समस्या स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउन जरुरी छ । अहिलेको हाम्रो व्यवस्थामा स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पतालहरु छन् । विभिन्न प्रतिष्ठानहरु छन्, जसले झण्डैझण्डै स्वयत्त ढंगले काम गर्छन् । प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालहरु छन् । ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न हामीलाई केही कानून प्रबन्ध चाहिएको छ ।’

खरिद प्रक्रियामा पनि समस्या रहेको ज्ञवालीको भनाइ रहेको छ । खोप लगायतका अत्यावश्यकीय वस्तुहरु अग्रिम भुक्तानी नगरेसम्म नपाइने भन्दै उनले हाम्रो सार्वजनिक खरिद ऐनले एड्भान्स पेमेन्टको परिकल्पना नगर्ने बताए । यस्ता कामका लागि कानूनी प्रबन्ध गर्नुपर्ने महसुस भएको ज्ञवालीको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अक्सिजन, खोपलगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम थाल्न निर्देशन दिएका छन् ।

स्वास्थ्य संकटकालबारे पनि छलफल भइरहेको भन्दै ज्ञवाली अहिले संक्रामक रोग ऐनले गर्न नसकेको के-के काम चाहिँ स्वास्थ्य संकटकाल लगायो भने सहज हुन्छ भनेर तुलनात्मक अध्ययन गरिरहेको समेत बताएका छन् ।

 

 

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्