प्रधानमन्त्री पदको लागि लालायित छैन तर नेतृत्व गर्नुपर्ने अवस्था आए पछि हट्दिन : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।
आफ्नो निवास बुढानिलकण्ठमा आज श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताएका हुन्।
नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए।
देउवाले भने-‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन् । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्नेकुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौँ । तर राजनीतिक परिस्थितिबाट यदी भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि पनि हट्दैनौँ ।’
आफूहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि उनले भनाइ रहेको छ ।सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए।