Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपामा भयो आफ्नै नेतृत्वमा सरकार बनाउने सहमति !

जसपाको दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति भएको छ ।

बैठक केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेर केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षको पर्वका कारण केही दिनका लागि बैठक स्थगित भएको हो ।

बैठक रोकेर केही शीर्षनेता नयाँ वर्ष मनाउन उपत्यका बाहिर गएका छन् ।आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति भएपनि बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।

दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो ।

तर, एउटा कुरामा सहमति भयो, त्यो हो जसपाकै नेतृत्वमा सरकार बनाउने ।प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको तर्क थियो भने ओलीले माग पूरा गरे पनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईको तर्क थियो ।

ओलीलाई जति दिनसम्म टिकाइ राख्ने हो, लोकतन्त्रमाथि त्यति नै खतरा हुने उपेन्द्र यादव पक्षको दाबी थियो भने महन्थ ठाकुरले लोकतन्त्रमाथि ओलीबाट मात्र होइन, अन्य दलका नेताबाट पनि खतरा रहेको दाबी थियो । यिनै तर्क-वितर्कमा जसपा नेपालको पदाधिकारी बैठक जारी छ ।

अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउने गरी दुवै पक्ष सहमतिको विन्दुमा आएका छन् । जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

आफ्नै नेतृत्वमा सरकार बनाउने महन्थको प्रस्तावमा दुवै पक्ष सहमत भएको र नयाँ वर्ष मनाएपछि पुनः बैठक बसेर टुंगो लगाउने सहमित भएको जसपा स्रोतको भनाइ छ ।

बैठकमा पार्टीको समायोजन प्रकृया कसरी टुगों लगाउने त्यस विषयमा पनि छलफल भएको थियो । समायोजनका लागि पटक-पटक निर्णय गरेर सर्कुलर गरे पनि काम सम्पन्न भएको छैन ।

जिल्ला जिल्लामा विवाद भइरहेको छ, यसलाई कसरी टुंगो लगाउने भन्ने विषयमा पदाधिकारी बैठकले नै टुंगो लगाउने नेताहरु बताउँछन् ।

पदाधिकारीमा सहमति भइसकेपछि कार्यकारिणी समितिको बैठकबाट त्यसलाई अनुमोदन गराउनेछ ।जसपाका पाँचजना पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई छन्

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्