Logo
११ बैशाख २०८१, मंगलबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङमा फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढी क्षति

प्रदेश नं १ स्थित खोटाङमा फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा ५० लाख ८६ रुपैयाँ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत चुहिएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।

बिहान करिब ४ः३० बजेको समयमा सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपात लगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन पाएन ।

उद्योगमा आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए ।

उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ ।

 

 

 

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्