Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्छन् ।

आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गर्ने गरिन्छ । गएको वर्ष कोरोना महामारीका कारण लकडाउन भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको नेपाली सेनाले जनाएको छ । टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्र्सी जस्ता तरकारीबालीको बीउ रोप्ने चलन छ ।

उपत्यकाका नेवार समुदायले भने आजका दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउँने गर्दछन् । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गएिको किम्वदन्ती रहेको छ । आज काठमाण्डौ उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्