Logo
७ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेसमा होली पर्व आज हर्षोल्लासकासाथ मनाइँदै

तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो ।

भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।

पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।

सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ।

त्यस्ता इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्