Logo
७ बैशाख २०८१, शुक्रबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र जसपा नेपालका नेताहरुबीच बालुवाटरमा छलफल

सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपा नेपालका नेताहरु बालुवाटार गएका छन् । जसपाका नेता महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् ।

ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको जानकारी दिएका छन् ।

रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ ।

जसपाले आफ्ना माग पूरा भए पछिमात्र सत्ता साझेदारीका लागि आवश्यक निर्णय लिने बताउँदै आएको छ । सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।

जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा जसपा नेपालले एमालेसँग मिलेर सत्ता साझेदारी गर्ने वा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने भन्ने दुवै विकल्पलाई अहिलेसम्म खुला राखेको छ ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्