Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुगेकी हुन् ।

नेपाल एयरलाइन्सको विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुने छिन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

 

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्