अब एमालेको बैठक बस्नेछ, माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिनेछु : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । उनले अब आफू संयूक्त सरकारको प्रधानमन्त्री भएको बताए । उनले नयाँ अध्यादेश ल्याउने संकेत समेत दिएका छन् ।
अदालतले निर्वाचन आयोग समक्ष भएको नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको उनले बताए । ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भने ।
आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार अब एमालेको बैठक बस्ने बताएका हुन् ।
‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय लिने ति नेताले बताए ।
त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ रहेको उनले बताएका छन् ।
बैठकमा सहभागी नेताहरुका अनुसार आइतबार बसेको बैठकलाई भने एमाले दलको बैठक भनिएको थिएन । पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो ।
उक्त नेताका अनुसार अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी ओलीले दिएका छन् ।