Logo
६ बैशाख २०८१, बिहीबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको गौरवको आयोजना असारसम्ममा आधा सम्पन्न हुने

प्रदेश नं १ स्थित मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ ।

प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ ।

विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान्यास गरेको थियो ।

सो सडक रु एक अर्ब ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलाई तीन खण्डमा विभाजित गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।

पहिलो र दोस्रो गरी २० किमी सडक श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिई काम शुरुआत गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी सडक र घिनाघाटको पुल रु छ करोडको लागतमा निर्माण गर्न लामा बानियाँ कम्पनीले ठेक्का लिई काम शुरु गरेको कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिए ।

उनले ठेक्कामा लागेका बाटोको १० किमी चालू आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए ।

सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने बताइएको छ । सडकको गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको छ ।

विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिको नेताचोक, हरैचा हुँदै पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने सो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन् ।

बहुवर्षीय योजना अन्तर्गत सुनसरी र मोरङका गरी रु नौ अर्बको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्की पुल निर्माण गर्न रु २२ करोडको योजना सञ्चालनमा रहेका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न ? छ करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्