Logo
४ बैशाख २०८१, मंगलबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान

एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ ।

नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष : हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।

नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभागिता रहेको थियो ।

नगरका सबै बासिन्दालाई हिंसाविरुद्ध सचेत गर्ने लक्ष्य लिएको यसपटकको कार्यक्रममा तीन प्रतिशत बासिन्दालाई सचेतना गराएको नगर उपप्रमुख रामदेवी तामाङले बताए ।

उनका अनुसार फूलबारीबाट शुरु गरिएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो ।

“महिलालाई आर्थिकरूपमा सशक्तीकरण हुन, छोरा र छोरीमा विभेद नगर्न र चेतना विकासको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने अनुशिक्षणको मूल उद्देश्य हो”, तामाङले भने ।

अनुशिक्षणमा करिब तीन घण्टा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैङ्गिक हिंसाको अवस्था र न्यूनीकरणका उपायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक-शिक्षिका, महिला स्वयंसेविका, समाजका अगुवा, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्य, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा महिला सहभागीले आफूले भोगेका हिंसाका विभिन्न सवालमाथि छलफल गरी लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक-शिक्षिका, महिला स्वयंसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।

अनुशिक्षण समापनमा वाग्मती प्रदेशसभा सदस्य गोमा भुर्तेलले हिंसामा परियो भनेर महिलाले बेकारमा ज्यान नफ्याँक्न सुझाव दिए ।

“राज्यले निरोध, कानूनी कारवाही, क्षमता विकास, समन्वय, सहयोग र सहकार्यमा हिंसा न्यूनीकरणका प्रयास गरिरहेको छ, तपाईँहरु ढुक्क भएर जिउनुस्”, उनले भने ।

उनका अनुसार लैङ्गिक-हिंसा, घरेलु-हिंसा, यौन दुव्र्यवहार, प्रथाजन्य चालचलन र व्यवहार, विवाह प्रचलनले महिलालाई पछि पारेको छ र सचेतनाको माध्यमबाट हिंसामा कमी ल्याउन सकिन्छ ।

नगर महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले सबै वडामा अनुशिक्षण सकिएको बताउँदै फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ र्याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मानलगायतका कार्यक्रमका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने जानकारी दिए ।

उनका अनुसार अनुशिक्षणमा स्वास्थ्य बीमाका विषयमा पनि जानकारी दिइएको थियो ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्