Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्तकालीन याममा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ नेपाल विशेष विमानबाट आउँदै गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका लागि बहराइनका राजदूत पदम सुन्दाससँग बिहीबार उनकै कार्यकक्षमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले आफूहरु राजकुमारसहितको टोलीको स्वागतको पर्खाइमा रहेको तथा आरोहण अनुमतिका लागि पर्यटन विभागमा आवश्यक पहल थालिएको जानकारी दिए ।

उनका अनुसार राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेन्टिनपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ ।

अहिले शेर्पाको कम्पनीमार्फत वसन्तकालीन यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्