Logo
१३ बैशाख २०८१, बिहीबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा अर्धमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

अर्थमन्त्री पौडेलविरुद्ध आज रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका हुन् ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

दुई पक्षबीच ढुंगा हानाहान र लखेटालखेट हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

सरकारले स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएकाले औद्योगिक क्षेत्र बन्न नदिने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले स्थानीयको विरोधले औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बताए । स्थानीयले विरोध गरिरहे उनीहरुले जग्गाको लालपूर्जासमेत नपाउने चेतावनी दिए ।

 

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्