Logo
८ बैशाख २०८१, शनिबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा निर्घात कुटपिटबाट अजितकुमार यादवको मृत्यु

प्रदेश नं २ स्थित सिरहामा निर्घात कुटपिटबाट एक युवकको मत्यु भएको छ । सिरहा नगरपालिका–१८ इटारी बस्ने बन्दलाल यादवको छोरा २२ बर्षीय अजितकुमार यादवको कुटपिटबाट मृत्यु भएको हो ।

निर्घात कुटाइबाट शक्त घाइते भएका अजितलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

‘झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुटे,’ अजितका भाई नविनकुमार यादवले भने, ‘कुटाईबाट अजितको शरीरबाट रगत बाहिर नआए पनि भित्री भागमा विशेष असर परेको कारण मृत्यु भएको हुन सक्छ ।’

गत फागुन १५ साँझको झगडापछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गयो र सोही राती तीन बजे अजितलाई सास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा मृत्यु भएको उनले बताए ।

पत्नी अल्काकुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई(बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए ।

आपसी विवादका कारण इटारीकै सारहु नाता पर्ने मुनेश्वर यादव र अजितबीच गएको फागुन १४ र १५ गते पटकपटक विवाद भएको स्थानीयको भनाइ छ । आपसी विवादका कारण दुई दिनमा तीन चार पटक झगडा भएको स्थानीय बताउँछन् ।

अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले सो जाहेरी दर्ता नगरी ०७७ फागुन १६ को दिनभर प्रतिक्षा गराएको पीडित परिवारले गुनासो गरेका छन् ।

कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए । उनले पोष्टमार्टमको रिपोर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्