Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर लगाएपछि स्थानीयको विरोध

प्रदेश नं २ स्थित सर्लाहीमा सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर लगाएपछि स्थानीयको विरोध जनाएका छन् ।

सर्लाहीको धनकौल गाउँपालिकाले वडा नम्बर १, सेखौना टोलमा ९ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य थालेकोमा गुणस्तरहीन काम भएपछि त्यहाँका सर्वसाधारणले विरोध जनाएका छन् ।

मनपरी ढंगले निर्माण कार्य गरिरहेको भन्दै सर्वसाधारणले विरोध जनाएपछि निर्माण कार्यको जिम्मा पाएको उपभोक्ता समितिले निर्माण कार्य रोकेको छ ।

उक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायको रेखदेख नपुग्दा निर्माण कार्यको जिम्मा पाएको उपभोक्ता समितिले मनपरी ढंगले निर्माण कार्य गरिरहेको आरोप सर्वसाधारणले लगाएका छन् ।

आयोजनाले ९ लाखको लागतमा बन्दै गरेको ९०/९५ मिटर लामो, १२ फिट चौडाइ र ८ इन्च उचाइ भएको सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गाउँपालिकाका इन्जिनियर नितेश साहले समेत इस्टिमेटअनुसार १ नम्बर इँटा लगाउनुपर्ने ठाँउमा ३ नम्बर इँटा प्रयोग गरेका कारणले सोको मूल्यांकन नगर्ने चेतावनी दिएको स्थानीयले बताए ।

उपभोक्ता समितिका सदस्य प्रेम यादवले निर्माण कार्य सुरु गर्दा १ नम्बर इँटा पाउन कठिन भएकाले ३ नम्बर इँटा प्रयोग गरिएको बताए ।

स्थानीय रामपरीक्षण महतोले इस्टिमेटअनुसार काम नभए काम गर्न नदिने बताए । कमसल सामग्रीको प्रयोग गरी निमार्णकार्य गर्न कुनै पनि हालतमा नदिइने उनको भनाइ छ ।

उता गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भइरहेको नागरीक गुनासो आएपछि तत्काल काम बन्द गर्न निर्देशन दिइएको बताए । उनले भने, ‘अबको निर्माणको काम भनेको एक पटक गरे २० औँ वर्षसम्म टिक्ने बनाउनुपर्छ ।’

संरचना निर्माणमा कमसल सामग्रीको प्रयोग गर्ने र काम गर्दा ठग्ने जुनसुकै उपभोक्ता समितिलाई कारबाहीको दायरामा उभ्याउन पछि नपर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्