Logo
७ बैशाख २०८१, शुक्रबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइँदै

प्रदेश नं १ स्थित इलाम जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ ।

सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो ।दरबारमा यसअघि जिल्ला प्रशासन कार्यालय रहेको थियो ।

प्रशासन कार्यालय नयाँ भवनमा स्तानान्तरण गरेपछि दरबारमा संग्रहालय बनाउन नगर साहित्य प्रतिष्ठानलाई जिम्मा दिइएको हो । प्रतिष्ठानले जिम्मा पाएसँगै कामले गति लिएको छ ।

संग्रहालयमा लोप हुने अवस्थामा पुगेका उपकरण, बाजागाजा, विभिन्न जातिका भेषभुषा, भाडावर्तन लगायतका सामग्रीको संरक्षण गरिने छ । त्यस्तै पुर्खाहरूले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरूको पनि संग्रहालयले संरक्षण गर्ने नगर साहित्य प्रतिष्ठानले बताएको छ ।

स्थानीयहरूले दरबारको पुननिर्माण गर्दै अत्याधुनिक बनाएर पूर्वाञ्चलकै संग्रहालय बनाउन पनि माग गरेका छन् । संग्रहालयले पूर्णता पाएसँगै खोज र अनुसन्धानमा रुचि राख्ने पर्यटकहरूको पहिलो रोजाइ इलामा बन्नेमा स्थानीयवासी विश्वस्त छन् ।

प्रधानमन्त्री जंगबहादुर राणा भएको समयमा इलाममा बडाहाकिम भएर आएका गजराजसिंह थापाको कार्यकालमा यो दरबार बनेकाले यसलाई पूर्वाञ्चलकै आकर्षणको केन्द्र मानिन्छ । दरबारमा अरनिको संग्रहालय बन्ने भएपछि स्थानीय पनि उत्साहित भएका छन् ।

जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने तयारी भइरहेको छ । संग्रहालयमा जातिय संस्कृतिका सामग्री र लोपोन्मुख सामग्रीहरू राखिने छ । संग्रहालयको प्राङ्गणमा पञ्चेबाजाको ‘स्ट्याचू’ सजाएर पर्यटक आकर्षित गर्न खोजिएको छ ।

संग्रहालयमा आउने पर्यटकलाई जिल्लाका पर्यटकीय स्थलको पनि जानकारी दिइने छ । पर्यटकीय क्षेत्रका गन्तव्यको जानकारीका लागि संग्रहालयमा हल निर्माण गरिएको छ । हलमा जिल्ला भएका पर्यटकीय स्थलको भिडियो देखाएर जानकारी दिइने छ ।

 

 

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्