Logo
७ बैशाख २०८१, शुक्रबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझेदारी गर्न जसपासँग प्रचण्ड-माधवको प्रस्ताव : तर जसपाको प्रश्न ‘तपाईहरुको पार्टी कुन हो ?’

बिभाजित नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग सत्ता साझेदारीमा साथ दिन प्रस्ताव गरेका छन् ।

तर जसपाका नेताहरुले भने नेकपाको आधिकारितामै अन्योल रहेको अवस्थामा तत्कालै केहि भन्न सहिने अवस्था नरेको बताएका छन् ।

अदालतले संसद् पुनस्थापना गरेपछि नयाँ सत्ता समीकरणको कसरत भइरहेको छ भने प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि बिभाजित नेकपा अर्थात प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ ।

नेकपा दाहाल-नेपाल समूहले आज सत्ता साझेदारीको विषयमा जसपाका नेताहरुसँग छलफल गरेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

नेताहरुले दिएका प्रतिकृया अनुसार छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेका हुन् ।

विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

यसैबीच, बैठकमा जसपाको तर्फबाट राजेन्द्र महतोले प्रचण्ड-नेपाललाई पहिलो प्रश्न नै ‘तपाईहरुको कुन पार्टीको हो ’ भनेर सोधेका थिए । नेकपाका नेताहरुले यसमा मौन बसेका थिए ।

नेकपाको पार्टी आधिकारिकताको विवाद नटुंगिएका कारण जसपाले प्रचण्ड-नेपाललाई यस्तो प्रश्न उठाएको बताइएको छ । बैठकमा प्रचण्डले आफूहरु नै आधिकारिक रुपमा नेकपा भएको दावी गरेका थिए ।

बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, बन्दी रिहाई लगायतका विषयमा आफ्नो पार्टीको तर्फबाट भनाइ राखिएको नेता महतोले जानकारी दिए ।

प्रचण्ड-नेपालले राखेको प्रस्तावहरुका बारेमा पार्टीमा छलफल गरिने पनि उनले जानकारी दिए । सहकार्य गर्ने विषयमा छलफल गर्न बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्