Logo
७ बैशाख २०८१, शुक्रबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् अघि सुरक्षा परिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज(मंगलबार) बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे बैठक डाकिएको छ ।

बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । परिषद्को नियमित बैठक हिजो सोमबार बस्ने भनिए पनि प्रधानमन्त्री ओली उपत्यका बाहिर जानु परेका कारण स्थगित भएको थियो । बैठक आज साढे १० बजेलाई बोलाइएको छ ।

परिषद् सचिवालयले यसलाई नियमित बैठक भने पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबिच सोमबार दिउँसो एक बजे सर्वोच्च अदालतमा भएको भेटले तरंग्याएको राजनीतिक वृत्तमा बोलाइएको बैठकले थप कौतुहलता जगाएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले फैसला दिने तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार वर्तमान सुरक्षा अवस्थाबारे बैठक केन्द्रित रहने छ । आज बस्ने दुबै बैठकलाई विशेष चाँसोका साथ हेरिएको छ ।

खास अवस्थामा बस्ने राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता परिषद् प्रमुख तथा प्रधानमन्त्रीले गर्ने गर्छन् । विशेष गरी राष्ट्रिय विपत् तथा सुरक्षामा खतरा पैदा भएको अवस्थामा सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ भने देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ भने सदस्यसचिव रक्षा सचिव रहन्छन् ।

यसअघि ५ कात्तिक ०७७ मा प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बसेको थियो । सोही दिनको राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

 

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्